काठमाडौँ ।। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण र कार्यक्रमलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाबाटै फरक फरक धारणा आएपछि एनआरएनए वृत्तमा हंगामा भएको छ।

एउटै विषयमा एनआरएनए एनसीसी यूएसएबाट दुई फरक–फरक विज्ञप्ति आएपछि भ्रम सिर्जना भएको भन्दै एनआरएनएकै केन्द्रले औपचारिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै यसबारे स्पष्ट पार्न खोजेको छ।

एनआरएनए केन्द्रको सचिवालय बालुवाटारमा रहेको छ भने यसको विश्वभर शाखाका रुपमा एनसीसीहरु रहेका छन् । तर, एनआरएनए एनसीसी अमेरिकामा दुई वटा रहेको र दुईवटाको फरक फरक धारणा आएको थियो ।

एनआरएनएको केन्द्रमै पनि दुई कमिटी रहेकामा केहीअघि मात्रै एकताको घोषणा भएको थियो । केन्द्रको विज्ञप्तिमा विकास उप्रेतीको अध्यक्षतामा गठित एनआरएनए एनसीसी यूएसएले मन्त्री गुप्तालाई औपचारिक रूपमा आमन्त्रण गरेको स्पष्ट पारिएको छ।

साथै, एनआरएनएमा विगतमा देखिएका आन्तरिक असमझदारी अन्त्य गर्दै केन्द्रमा एकताको सम्झौता सम्पन्न भइसकेको र राष्ट्रिय समन्वय परिषद्हरू पनि एकताको प्रक्रियामा सहभागी भइरहेको उल्लेख गरिएको छ।

एनआरएनए अमेरिकाले भन्यो– खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन

तर, विकास उप्रेती र सत्येन्द्र शाहको अध्यक्षतामा रहेका दुई एनसीसी यूएसएबीच समन्वयको अभावका कारण पछिल्लो विवाद उत्पन्न भएको केन्द्रको ठहर छ। यही कारणले मन्त्री गुप्ताको भ्रमणलाई लिएर विरोधाभासपूर्ण सन्देश गएको स्वीकार गरिएको छ।

शाह नेतृत्वको कार्यसमितिले गुप्तालाई एनआरएनएले बोलाउँदै नबोलाएको भनेर विज्ञप्ति जारी गरेको थियो । त्यसपछि हंगामा हुन पुगेको थियो ।

केन्द्रले मन्त्री गुप्तालाई ‘Role of NRNA Youth in the Development of Nepal Post Gen-Z Revolution’ शीर्षकको कार्यक्रममा नेपाली समुदायसँग प्रत्यक्ष अन्तरक्रिया र विचार–विमर्शका लागि आमन्त्रण गरिएको संघको दाबी छ।

उक्त कार्यक्रमको उद्देश्य विदेशमा रहेका नेपाली युवालाई नेपालको विकास प्रक्रियासँग जोड्नु रहेको उल्लेख छ। एनआरएनएले आगामी दिनमा यस्ता अवस्था दोहोरिन नदिन आन्तरिक समन्वय र सूचना प्रवाह प्रणालीलाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ।

यसैबिच गुप्ताको भ्रमणबारे तीव्र आलोचना भएसँगै शुक्रबार उनले अमेरिका नजाने बताइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here