रौतहट ।। ज्योती डिस्टिलरीमा बोइलर विस्फोट, एकको मृत्यु, सात जना घाइते रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. ९ डुमरिया स्थित ज्योती डिस्टिलरी प्रा.लि.मा रहेको बोइलर मेसिन आज बिहान अचानक विस्फोट हुँदा एक जना कामदारको घटना स्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बोइलर पड्किएको भन्ने खबर बिहान करिब ९:०० बजेको समयमा इलाका प्रहरी कार्यालय कटहरियामा प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटना स्थल तर्फ खटिएको थियो । इलाका प्रहरी कार्यालय कटहरियाबाट प्रहरी नायब निरीक्षक धर्मेन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली घटना स्थलमा पुगेको थियो ।
घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ । विस्फोटका कारण डिस्टिलरीभित्र रहेको भौतिक संरचनामा पूर्णरूपमा क्षति पुगेको छ । उक्त उद्योग इलाका प्रहरी कार्यालय कटहरियाबाट करिब ६ किलोमिटर दूरीमा रहेको छ । प्रहरीका अनुसार, घटनामा डिस्टिलरीमा काम गर्ने कटहरिया नगरपालिका वडा नं. ८ निवासी अन्दाजी ४५ वर्षका लक्ष्मण राय यादवको घटना स्थलमै मृत्यु भएको हो । उनकाे शव घटना स्थलमै रहेको र कानुनी प्रक्रिया पूरा गर्ने तयारी भइरहेको छ ।
घाइते हुनेहरूमा सोही डिस्टिलरीमा काम गर्ने कटहरिया नगरपालिका वडा नं. ८ निवासी ४५ वर्षका रहमोद आलम, ३५ वर्षका प्रमजित यादव, ५१ वर्षका जगदिश यादव (हातखुट्टा जलेको, अवस्था गम्भीर), ५५ वर्षका बिगन यादव (हातखुट्टा जलेको, अवस्था गम्भीर), ४० वर्षका कैलाश माली (मध्यम अवस्था) तथा गरुडा नगरपालिका वडा नं. ५ महमदपुर निवासी ४० वर्षका मुकेश यादव (हातखुट्टा जलेको, अवस्था गम्भीर) रहेका छन् ।
घटनापछि उद्योग परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । बोइलर विस्फोटको कारण, उद्योगले अपनाएको सुरक्षा मापदण्ड, मेसिनको प्राविधिक अवस्था तथा लापरबाही भए नभएको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ ।












