बारा ।। कलैया बजार क्षेत्रमा पछिल्लो समयमा चोरीका घटनाहरू तीव्र गतिमा बढिरहेका छन्। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको नजिकै रहेको संवेदनशील क्षेत्रबाट समेत सरकारी मोटरसाइकल चोरी भएको घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
कलैया उपमहानगरपालिका कार्यालयको नाममा दर्ता भएको ना.१ व ३५६५ नम्बरको बजाज पल्सर १५० टिडि मोटरसाइकल गत भाद्र १२ गते राति करिब ९:३५ बजे चोरी भएको हो। उक्त मोटरसाइकल उपमहानगरपालिका वडा नं. १ पानिटंकी एरियास्थित ऐन सेल सेन्टर अफिस नजिक रहेको गल्लीमा पार्किङ्ग गरी राखिएको थियो।
मोटरसाइकल रोजगार सेवा केन्द्रका शाखा प्रमुख विवेक गुप्ताको घर अगाडि राखिएको थियो भने चोरी भएको स्थान प्रहरी कार्यालयबाट केही मिनेटको दूरीमै पर्छ।
सदरमुकामको यस्तो संवेदनशील स्थानबाट सरकारी सम्पत्ति चोरी हुनुले प्रशासनको गस्ती र सुरक्षा सतर्कतामाथि गम्भीर शंका उत्पन्न गरेको स्थानीयवासीहरू बताउँछन्। उनीहरूको भनाइमा, पछिल्लो समय कलैया बजार क्षेत्रमा चोरी, लुटपाट तथा आपराधिक क्रियाकलाप बढ्दै जाँदा आम नागरिकहरू असुरक्षित महसुस गरिरहेका छन्।
स्थानीयवासीको आक्रोश
स्थानीयले प्रहरी प्रशासनप्रति असन्तुष्टि जनाउँदै चोरहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन्। “जिल्ला प्रहरी कार्यालयकै नाकामुनिबाट सरकारी मोटरसाइकल चोरी हुनु लाजमर्दो कुरा हो,” एक स्थानीयले भने, “यदि प्रहरीको आँखामुनिबाटै यस्तो घटना हुन्छ भने सर्वसाधारण कसरी सुरक्षित रहन सक्छन् ?”
प्रहरीको भनाइ
जिल्ला प्रहरी कार्यालय, बाराका अधिकारीहरूले घटनाबारे अनुसन्धान सुरु गरिएको बताए पनि चोरी भएको यतिका दिन बित्दा समेत कुनै ठोस सुराक फेला परेको छैन। प्रहरीले निगरानी र खोजी कार्यलाई थप सशक्त बनाउने तयारी गरिरहेको जनाएको छ।
तर घटनाको लामो समय बित्दासमेत नतिजा नआउँदा प्रहरीको कार्यक्षमता र गस्ती प्रणालीप्रति सर्वसाधारणमा गम्भीर शंका उत्पन्न भएको छ।
सदरमुकाममै बढ्दो आपराधिक गतिविधिले चोरहरूले प्रहरीको “नाकमुनि नै चुनौती दिइरहेका छन्” भन्ने जनधारणा बनाएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here