रौतहट ।। दुर्गा भगवती गाउँपालिकाभित्र रहेका ऐतिहासिक र धार्मिक महत्व बोकेका दुर्गा मन्दिरहरूमा अब भक्तजनहरूले आधुनिक प्रविधि प्रयोग गर्दै सजिलै इतिहास बुझ्न सक्ने भएका छन्।
गाउँपालिकाले मत्सरी दुर्गा मन्दिर र पिपरा दुर्गा मन्दिरमा QR स्क्यानर जडान गरेको हो। QR स्क्यानरमार्फत भक्तजनहरूले मन्दिरको उत्पत्ति, ऐतिहासिक महत्व र धार्मिक पृष्ठभूमि विश्वका १० भाषामा जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।
गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले औपचारिक रूपमा पुजा समितिका अध्यक्षलाई QR स्क्यानर हस्तान्तरण गर्दै उक्त सुविधा शुभारम्भ गरेका हुन्। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिला देवी, वडा अध्यक्षहरू धर्मेन्द्र कुमार झा, प्रद्युमन चौधरी, सुरेश चौधरी, समाजसेवी छाेटन सिंह, जिंसी शाखा प्रमुख सन्दीप दास, पुजा समितिका अध्यक्ष द्वय तथा स्थानीय भद्रभलाद्मीको उपस्थिति रहेको थियो।
गाउँपालिकाले प्रविधिमैत्री पहलमार्फत धार्मिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्य लिएको छ। QR कोड स्क्यान गर्नेबित्तिकै मन्दिरसँग सम्बन्धित सम्पूर्ण विवरण सजिलै पढ्न र बुझ्न सकिने भएकाले यसले धार्मिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
वडा अध्यक्ष डिके झाले भक्तजनलाई मन्दिरको इतिहास बुझ्न अझ सहज हुने विश्वास व्यक्त गर्दै भने, “अब दर्शनसँगै मन्दिरको सम्पूर्ण जानकारी तत्काल प्राप्त गर्न सकिने भएको छ, जसले भक्तजन र पर्यटकलाई थप सुविधा पुर्‍याउनेछ।”
यो प्रविधिले मन्दिरमा आउने देश–विदेशका भक्तजनलाई सहजता दिने मात्र नभई, धार्मिक स्थलप्रति नयाँ पुस्ताको चासो बढाउन पनि सहयोग गर्ने विश्वास लिइएको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here