काठमाडाैं।। गर्मीयाम सुरु भएसँगै डढेलोसहित आगलागीसहितका घटना बढेका छन् । अहिले देशका विभिन्न स्थानमा आगलागीका घटना घटिरहेका छन् । आगलागी हुनै नदिन विभिन्न उपायहरू अपनाउन सकिन्छ । आगलागीको मुख्य कारण आगोको प्रयोगमा सावधानी नअपनाउनु हो । खाना पकाउँदा, फोहोर जलाउँदा सावधानी नअपनाउँदा र काम सकिसकेपछि पूर्ण रूपमा आगो ननिभाउँदा आगलागी हुनसक्छ । यस्तै, कमजोर विद्युतीय संरचना तथा सामग्रीहरू (विद्युतीय तार, प्लग, वायरिङ)को प्रयोग गर्नाले आगलागी हुनसक्छ । ग्यास, मट्टीतेल, पेट्रोल, डिजेलजस्ता अति प्रज्वलनशील पदार्थको सावधानीपूर्वक प्रयोग र सुरक्षित भन्डारण गर्नुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । चुरोटको ठूटो ननिभाइ फाल्दा पनि आगलागी हुनसक्छ । पूर्वतयारीका उपाय प्राधिकरणका अनुसार आगलागी हुन नदिन पूर्वतयारीका विभिन्न उपायहरू अपनाउन सकिन्छ । सलाई, लाइटर, मट्टीतेल, पेट्रोलजस्ता अति प्रज्वलनशील वस्तुको प्रयोगमा सावधानी अपनाउनुपर्छ । त्यस्ता वस्तु बालबालिकाले भेट्ने ठाउँमा राख्न हुँदैन । यस्तै, विद्युतीय सामग्रीहरूमा बढी ‘लोड’ दिन हुँदैन । खाना पकाउने ग्यासको पनि सुरक्षित प्रयोग गर्नुपर्छ । आगो ताप्न प्रयोग गरिने हिटर, मकल वा अरू वस्तुले कोठा तताउँदा कम्तीमा हावा खेल्ने गरी एउटा झ्याल खोल्नुपर्छ । हिटर रातभर बालेर छोड्न हुँदैन । बाथरुममा पानी तताउँदा ग्यास हिटरको प्रयोग गर्दा पनि हावा खेल्ने गरी कम्तीमा एउटा झ्याल खोल्नुपर्छ । आगलागीको समयमा अपनाउनुपर्ने सतर्कता आगलागीको सुरुवाती चरणमा सम्भव भएसम्म सुरक्षित रहेर आगो निभाउने प्रयास गर्नुपर्छ । सम्भव नभए जमिनमा घोप्टो परेर सुरक्षित ठाउँबाट बाहिर निस्किनुपर्छ । आगलागीमा परेकालाई अवस्थाअनुसार दौडेर, पल्टँदै वा अरू सुरक्षित तरिकाबाट बाहिर निस्कन लगाउने तथा सहयोग गर्नुपर्छ । दमकल र प्रहरीलाई खबर गर्नुपर्छ । आगलागीको समयमा सिट्ठी फुकेर वा साइरन बजाएर मानिसको सहभागिता जुटाउनुपर्छ । अग्निनियन्त्रक यन्त्रको प्रयोग वा उपलब्ध जनशक्तिलाई लाइनबद्ध गरी पानी, हरियो स्याउला, बालुवा, माटोजस्ता वस्तुहरूको प्रयोग गरी आगो निभाउनुपर्ने प्राधिकरणले जनाएको छ । आगलागीपछिको सतर्कता आगलागी प्रभावितहरूको अवस्था हेरी सुरक्षित आश्रयस्थलमा राख्नुपर्छ । स्वास्थ्य सेवा, राहतसँगै खानेपानी, सरसफाइको व्यवस्था मिलाउनुपर्छ । यस्ता काममा महिला, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्तिका विशेष आवश्यकताहरू र सबै व्यक्तिहरूका तत्कालीन आवश्कतालाई ध्यान दिनुपर्छ । यस्तै, क्षतिको विवरण संकलन, मूल्यांकन र पुनःस्थापनाको काम गर्नुपर्छ । यसो गर्दा गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, महिला, अशक्त, अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्छ । प्रभावित परिवार र समुदायमा फेरि यस्ता घटनाले असर नपरोस् भनी जनचेतना फैलाउनुपर्छ । जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरी समुदायको उत्थानशीलता बढाउनुपर्ने प्राधिकरणले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












