सर्लाही ।। सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह रहेको स्थानीयले बताएका छन् । स्थानीयले प्रहरीको गोली लागेर मृत्यु भएको बताए पनि यसको पुष्टि भइसकेको छैन । जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेका अनुसार मृत्यु भएको जानकारी प्राप्त भए पनि के कारणले मृत्यु भएको हो भन्ने यकिन नभएको बताए । प्रदर्शन स्थलमा मोटरसाइकले साइकलमा सवार एक जनालाई ठक्कर दिएको खबर पनि आएको भन्दै घिमिरेले प्रहरीको गोली लागेर वा मोटरसाइकलको ठक्करबाट मृत्यु भएको भन्ने यकिन नभएको बताए । घटनाको अनुसन्धानका लागि स्थानीयले प्रहरीलाई घटनास्थलमा जान नदिएको बताइएको छ । नगारपालिकामा रहेको नगर अस्पतालालई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठक स्थगित भएपछि झडपको स्थिति सिर्जना भएको हो । विवाद बढेपछि नगरपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेको थियो ।
नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालका अनुसार १५ शय्याको नगर अस्पताललाई ५० शय्याको बनाउने सहमति गर्दै मधेश प्रदेशलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको थियो । यसलाई समाधान गर्न आज सर्वदलीय बैठक डाकिएको थियो ।





