जनकपुरधाम ।। नेपाली कांग्रेसका मधेस प्रदेशको प्रथम सम्मेलन जनकपुरधाममा सुरु भएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले प्रथम सम्मेलनको उद्घाटन गरेका छन् । सम्मेलनमा मर्यादाक्रममा चित्त नबुझेपछि पूर्वउपसभापति विमलेन्द्र निधि दर्शकदीर्घामा बसेका छन् । प्रदेश सम्मेलनका क्रममा १५ औं नम्बरतिर मात्रै मञ्चमा बोलाइएपछि निधि मञ्चमा नगई दर्शकदीर्घामा गएर बसेका हुन् ।
‘केन्द्रीय पदाधिकारी, प्रदेशका पदाधिकारी, कांग्रेसका मन्त्री र नेताभन्दा पनि पछाडि १५ औं नम्बरतिर बोलाइएपछि उहाँ मञ्चमा नगई दर्शक दीर्घामा गएर बस्नुभएको हो,’ कांग्रेस धनुषाका एक नेताले भने । सभापति देउवासहित उपस्थित शीर्ष नेताहरूले स्वागत मन्तव्य राख्दै छन् । प्रदेश सभापति कृष्ण प्रसाद यादवका अनुसार आजको सत्र समाप्त भएपछि भोलि बन्द सत्र हुनेछ । उद्घाटन सत्रमा मधेस प्रदेशको आठ वटै जिल्लाबाट सयौँ नेता कार्यकर्ताको उपस्थिति देखिएको छ । भोलि बन्द सत्रमा ८२५ जना प्रदेश प्रतिनिधिले भाग लिने सभापति यादवले जानकारी दिए ।





