काठमाडाैं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालमाथि रकम उठाएको आरोप लगाइरहेका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले राजीनामा दिए प्रमाण सार्वजनिक गर्ने बताएका छन्।
प्रमाणको सुरक्षा मुख्य कुरा भएकाले आफू अहिले प्रमाणको सुरक्षा गर्नतिर लागेको पनि जिकिर गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘मसँग चारजना बढीको प्रमाण छ। अदालतको प्रक्रिया हेर्दै छु। प्रमाणहरू सुरक्षित भएपछि पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्छु।’
उनले प्रमाणको सुरक्षाका लागि पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क गरेका छन्। उनले लेखेका छन्, ‘म सार्वजनिक गर्छु, प्रधानमन्त्रीले के राजीनामा दिनुहुन्छ? प्रधानमन्त्रीले राजीनामा दिएर आए म पनि प्रमाणहरू सार्वजनिक गर्छु। प्रमाणहरू नरहने र राजीनामा पनि नआउने अवस्था हुन सक्छ। त्यसैले पहिले प्रमाणहरू सुरक्षित गर्नेतर्फ लागेको छु।’

सर्लाही–४ बाट स्वतन्त्र उम्मेदवार भई गत वर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा विजयी भएका सांसद सिंहले आफू लडाइँबाट पछि नहट्ने पनि स्पष्ट पारेका छन्। ‘म कुनै टीके प्रथाबाट सांसद बनेको होइन। स्वतन्त्ररूपमा चुनाव जितेर आएको हुँ। म संसद र संसदीय समितिमा लड्दै छु। अर्को अदालतमा कानुनी लडाइँ लड्दै छु। सञ्चारमाध्यमबाट जनतामा लड्दै छु, कुरा पुर्‍याउँदैछु।’ श्राेत – नेपाल खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here