नेपालगन्ज ।। जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार राति ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपीन अधिकारीद्वारा जारी आदेशमा उल्लेख छ। यसअघि बिहीबार दिउँसोको समयमा कर्फ्यु खुकुलो बनाइएको थियो। नेपालगन्ज उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाभित्र कर्फ्यु लगाइएको छ। कर्फ्यु लगाइएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा, प्रदर्शन गर्न , पोस्टर, पर्चा टाँस्न नपाइने र एकै ठाउँमा पाँचजना भन्दा बढी मानिस जम्मा हुन नपाउने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।






