काठमाडौं ।। नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले करिब साढे तीन महिनाको अनुसन्धानबाट भारतीय नागरिकले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो ।
नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० भारतीय नागरिकलाई पक्राउ गरिएको उक्त कार्यालयका प्रमुख एवं एसएसपी मनोज केसीले बताए ।
कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भई काठमाडौंको शंखमूलमा बस्दै आएका ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमतीदेवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता छन् ।
यस्तै, बिहार नै घर भई ललितपुरको लगनखेलमा बस्दै आएका ४४ वर्षीय रामसुन्दर गुप्ता, गोंगबुमा बस्दै आएका ४३ वर्षीय रामप्रवेश गुप्ता, कलंकीमा बस्दै आएका ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मीनादेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता पक्राउ परेको उनले जानकारी दिए । उनीहरूले नेपालका सिरहा, बारा, पर्सा, रुपन्देहीलगायत जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको उनले बताए ।
उनीहरूलाई शनिबार काठमाडौंका शंखमूल, कलंकी, बागबजार, गोंगबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको एसएसपी केसीले जानकारी दिए ।
नेपाली नागरिकता प्राप्त गरेपछि उनीहरूले यहाँका विभिन्न स्थानमा घर–जग्गा खरिद गरी व्यापार, व्यवसाय समेत गरेर बसेको उनले बताए । भारतीयले वंशजका आधारमा नै नेपाली नागरिकता लिएको खुलेको उनले जानकारी दिए ।
एउटै ‘प्याटर्न’मा सबै जिल्लामा एकैसाथ अनुसन्धान गरेर उनीहरूलाई पक्राउ गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here