काठमाडौं ।। मंसिर ४ को निर्वाचनको परिणामसँगै जनमत पार्टीका अध्यक्ष सीके राउतले भेटघाटलाई तीव्रता दिएका छन् । अब बन्ने नयाँ सरकारमा सत्ता गठबन्धन सरकारमा जान सकारात्मक रहेका राउतले गठबन्धन दलका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका हुन् ।
राउतले आज बिहान कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँग भेट गरेका छन् । आइतबार बिहान बाँसबारीस्थित प्रवक्ता महतको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटपछि महतले राउत गठबन्धनसँग सरकारमा जान सकारात्मक रहेको बताए ।
“आधा घण्टाजति कुरा भयो । मैले उहाँलाई बधाई दिएँ । उहाँ गठबन्धनमा सामेल हुन तयार हुनुहुन्छ,” प्रवक्ता महतले भने ।यसअघि उनले कांग्रेस नेता विमलेन्द्र निधि, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु, गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरिसकेका छन् ।
जनमत पार्टीले समानुपातिकतर्फ चार सिट ल्याउने सम्भावना छ । त्यससँगै गठबन्धनका नेताहरूले उनलाई सरकारमा आउन प्रस्ताव गरेका हुन् ।
जनमत पार्टीका प्रवक्ता हरेन्द्र चौधरी अध्यक्षको भेटघाट सामान्य भएको बताउँछन् । राउत अरूले नबोलाई यसअघि भेट्न जाने नगरेको भन्दै अहिले नेताहरूसँग भेटेको बताए ।
“विमलेन्द्रजी एउटै जिल्लाको भए पनि पहिलोपटक भेट भएको थियो । अरूले नबोलाए भेट गर्नुहुन्न । अहिले बोलाउनुभएको नेताहरूसँग भेट गरिरहनुभएको छ,” उनले भने ।
हाल राउतले प्रतिपक्षी नेकपा एमालेका नेताहरूसँग भने भेट गरेका छैनन् । एमालेका नेताहरूसँग भेट्ने सम्भावना रहेको चौधरीले बताए ।
राउत सप्तरी–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here