ललितपुर ।। वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ललितपुरवासी जनताको सेवकका रुपमा काम गर्ने दृढताका साथ आफू फेरि जनताको घरदैलोमा आएको बताएकी छन् ।
क्षेत्र नं ३ का विभिन्न स्थानमा आज आयोजित घरदैलो कार्यक्रममा उनले ललितपुरवासीको गुणस्तरीय जीवनयापन गर्नेअधिकारलाई व्यवहारतः कार्यान्वयन गर्न आफू लागि पर्ने बताइन् । आइतबार उनले ललितपुर महानगरपालिका वडा नं २६ को चिवहाल, ढोलाहिटी, जैनखेल र सुनाकोठी तथा वडा नं २७ को चौतारा, ओखाट र बालकुमारीका मतदातासँग अन्तरक्रिया गरिन्। घरदैलो अभियानका क्रममा उनले आफूले यसअघि थालनी गरेको विकासका कामलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । २०७४ सालको निर्वाचनमा विजयी भएयता आफूले जनतासँग अन्तरक्रिया गर्दै जनअपेक्षा पूरा गर्न लागि पर्दै आएको बताइन् ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत क्षेत्र नं ३ का स्थानीयको विकासका आकाङ्क्षा पूरा गर्न आफूले बजेट निकासा गरेको उनले स्मरण गरिन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहेकी उनको पहलमा मच्छिन्द्रनाथ र कार्यविनायक जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । सो पुलले दुई सांस्कृृतिक सम्पदालाई एकापसमा जोडेको छ ।
सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो । पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ ।
मन्त्री भुसालले ‘अबको भिजन, गुणस्तरीय जीवन’ दृष्टिकोण प्रस्तुत गरेकी छन् । ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोडेर आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने उनको दृढता छ ।
Home प्रदेश समाचार बागमती प्रदेश ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने पम्फा भुसालको संकल्प
ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार गर्ने पम्फा भुसालको संकल्प
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।