काठमाडौं : सत्ता गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी भेला गर्ने भएको छ। बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले सात वटै प्रदेशमा चुनावी सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। भेलामा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला सभापति तथा अध्यक्षसहित तीन जनाको सहभागितामा कात्तिक ४ गतेबाट प्रदेशस्तरीय भेला सुरु हुने गठबन्धनले जनाएको छ। सार्वजनिक तालिकाअनुसार पहिलाे दिन नेकपा एकीकृत समाजवादीले गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा, कार्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा, कात्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा र काठमाडौंमा कात्तिक ७ गते माओवादी केन्द्रको समन्वयमा बागमती प्रदेशस्तरीय संयुक्त भेला हुनेछ।





