जनकपुर ।। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ। आइतबार बिहान पोखरा रंगशालामा भएको खेलमा मधेस प्रदेशले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। टस हारेर पहिलो ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७७ रन बनाएको थियो। जवाफमा खराव प्रदर्शन गरेको गण्डकी १९ ओभरमा ३७ रनमा समेटिएको थियो। गण्डकीका लागि सिला क्षेत्रीको १० रन दोहोरो स्कोरका रुपमा रह्यो। अन्य कुनैपनि ब्याटरले दोहोरो स्कोर तयार गर्न सकेनन्। गण्डकीलाई सस्तैमा समेट्ने क्रममा अनुराधा चौधरीले ४ विकेट लिंदा कविता गौतम र शान्ती चौधरीले समान २–२ विकेट लिएका थिए।
त्यसअघि पहिलो ब्याटिङ गरेको मधेशले सबनम खातुम र अलिसा यादवको १४–१४ तथा सरस्वती कुमारीको अविजित १५ रनको योगदानमा ८ विकेट गुमाएर ७७ रन रन बनाएको थियो। गण्डकीका लागि आकृति तिवारीले ३ विकेट लिइन भने कुसुम गोदारले २ तथा सृष्टि जैशी र सिला क्षेत्रीले १–१ विकेट लिएका थिए।





