काठमाडाैं ।। चिनियाँ राष्ट्रिय जनकँग्रेसका अध्यक्ष ली चान्सु आज नेपाल आउँदै हुनुहुन्छ । चार दिने नेपाल भ्रमणका लागि उहाँ काठमाडौँ आइपुग्नुहुनेछ । सभामुख अग्निप्रसाद सापकोटाको निम्तामा आउन लाग्नुभएका ली चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेतासमेत हुनुहुन्छ ।रुस र मङ्गोलियाको भ्रमण सकेर काठमाडौँ आउन लाग्नुभएका लीको साथमा करिब १ सय जनाको टोली रहनेछ। आगामी १६ अक्टुबरमा सीपीसीको २०औँ राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहेका बेला चान्सु नेपाल भ्रमणमा आउन लाग्नु भएको हो ।संवैधानिक रूपमा राष्ट्रपति सी चिनपिङपछि दोस्रो वरियतामा रहनुभएका ली पार्टीको प्रभावशाली राजनीतिक ब्यूरोका सात सदस्यमध्येका एक हुनुहुन्छ । नेपाल आएलगतै सभामुख सापकोटा र लीबीच आजै द्विपक्षीय भेटवार्ता हुनेछ। लीको सम्मानमा आज सापकोटाले रात्रिभोजको आयोजना गर्नुभएको छ । भ्रमणको क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।





