उदयपुर ।। अविरल वर्षासँगैको बाढीले सप्तकोशीको बहाव उच्च बन्दा सप्तकोशीले कटान गर्न थालेको छ । कटान नरोकिँदा बस्तीहरू थप जोखिममा पर्न सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । उदयपुरको बेलका नगरपालिका १ स्थित डुम्रीबोटे क्षेत्रमा निरन्तर नदीले कटान गरिरहेको छ । बेलका र बहारक्षेत्रमा गरी बाढीले करिब २० हजार स्थानीय जोखिममा परिसकेका छन् । सप्तकोशी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानववस्तीमा प्रवेश गरेकोमा प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले नदीको बहाव पश्चिमतर्फ बढ्दा बराहक्षेत्र र बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको उल्लेख गर्नुभएको छ । प्रेस नोटमार्फत मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका वासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गर्नुभएको छ । नदीको बहाव वस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रस लगायतका निकायलाई निर्देशन पनि दिनुभएको छ । सप्तकोसी ३४ वर्षपछि पुरानै धारमा फर्किंदा उदयपुर र सप्तरीका बस्तीहरू प्रभावित भएका हुन् । नदीले कटान गरेपछि उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्तीहरू प्रभावित भएका छन् । अहिले कोसीको बाढी पसेको स्थानबाट नै २०४५ सालअघि कोसी बग्ने गरेको थियो । कोसी पूर्व फर्केपछि त्यहाँ २०५१ सालपछिबाट बस्ती बस्न थाल्यो । अहिले कोसीले धार बदलेर पुरानै ठाँउमा आउँदा पछि बसेका बस्ती प्रभावित भएको हो । बाढीका कारण प्रभावित भएका सयौं नागरिकलाइ सुरक्षित स्थानमा सार्ने उनीहरूको लागि आवश्यक पर्ने खाद्यान्नदेखि बसोबासको व्यवस्था मिलाउने बारेमा छलफल भइरहेको प्रशासनले जनाएको छ ।
बाढीले सप्तकोशीको बहाव उच्च, हजारौं नागरिक प्रभावित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।