काठमाडाैं ।। प्रतिनिधिसभा अन्तर्गतको संसदीय समितिले नेपाली उद्योगमा काम गर्ने विदेशी मजदुरको सट्टामा नेपाली मजदुरलाई रोजगारी दिने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालमा रहेका विदेशी कामदारहरूको लगत संकलन गर्न र विदेशीको सट्टा नेपाली मजुरलाई श्रममा लगाउन श्रम विभागलाई निर्देशन दिएको हो । आज वैदेशिक रोजगार र श्रम सम्बन्धी समस्याका विषयमा श्रममन्त्रीसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो । समिति सभापति विमलप्रसाद श्रीवास्तवले नेपाली उद्योगमा स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समिति सदस्यहरूलाई पनि सहभागी गराउन निर्देशन दिनुभयो । समितिले उद्योग, श्रम र भौतिक पूर्वाधार मन्त्रालय तथा अन्य निकायहरूसँग समन्वय गरी मजदुरको समस्या समाधान गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।





