जनकपुर ।। जनकपुरधामस्थित मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि सुकुम्बासीहरूले सुतेर विरोध जनाएका छन् । चुरे तथा वन जंगल संरक्षण अभियानको आह्वानमा आन्दोलित बनेका सुकुम्बासीहरू सडकमै सुतेर विरोध जनाएका हुन् । मुख्यमन्त्री कार्यालय सुरक्षाकर्मीले घेर्न नदिएपछि ग्रामीण भेगबाट आएका सयौं सुकुम्बासी सडकमै सुतेर बिरोध गरेका हुन् । आन्दोलन स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने प्रदर्शनकारीको अडान छ । सक्कली सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनुपर्ने, नक्कली सुकुम्बासीको नाममा वनको जग्गा वितरण कार्य बन्द गर्नुपर्ने, सिरहाको चोहर्वामा रहेको मारुती सिमेन्टले कब्जा गरेको वनको जग्गा फिर्ता ल्याउनुपर्ने लगायतका माग राखेर उनीहरू लामो समयदेखि आन्दोलित छन् । यसअघि चुरे अभियानीहरू जनकपुरमा आमरण अनसन बस्दा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले प्रदेश सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । तर, प्रतिबद्धता कार्यान्वयन नभएको उनीहरूको गुनासो छ ।
Home प्रदेश समाचार मधेश प्रदेश वनको जग्गा फिर्ता ल्याउनुपर्ने माग सहित मधेस प्रदेशमा सुकुम्बासीहरूको बिरोध





