काठमाडाैं ।। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने तय भएको हो । आजको बैठक वैशाख ३० मा भएको स्थानीय तह चुनावको समीक्षामा केन्द्रित हुने बताइएको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो । यस्तै आजको बैठकमा आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा पनि छलफल हुने सम्भावना रहेको छ । बैठकले भ्रातृ तथा शुभेच्छुक संस्था थप्ने र मान्यता दिने निर्णय समेत गर्ने सम्भावना रहेको पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलले बताउनुभयो । यसअघि हिजो बसेको पदाधिकारीसहितको बैठकले शुभेच्छुक तथा भ्रातृ संस्था हुनका लागि आवदेन परेका विभिन्न संस्थामध्ये ११ वटालाई मान्यता दिने निर्णय गरेको थियो । काँग्रेसमा हाल १३ भ्रातृ संस्था र १८ शुभेच्छुक संस्था छन् । भ्रातृ तथा शुभेच्छुक संस्थाको मान्यता पाउनका लागि २७ वटा संस्थाले आवदेन दिएका थिए ।





