काठमाडाैं ।। सङ्घीय संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले ९१ बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका छन् । ६५ पृष्ठमा १ सय ४५ बुँदामा समेटिएका नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा विभिन्न राजनीतिक दलका ६ सांसदहरूले ८१ बुँदामा र राष्ट्रियसभाका ५ सांसदले १० बुँदामा संशोधन प्रस्तावको सूचना पेश गरेका हुन् । प्रमुख विपक्षी नेकपा एमालेका हृदयेश त्रिपाठी, शेरबहादुर तामाङ, भीमबहादुर रावल र खगराज अधिकारीले प्रतिनिधिसभामा संशोधन प्रस्ताव पेश गरेका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले पनि संशोधन प्रस्तावको सूचना पेश गरेका हुन् । नीति तथा कार्यक्रममाथि तीन बुँदामा संशोधन प्रस्ताव राखेका एमालेका सांसद अधिकारीले बुँदा नं १३९ मा ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट विदेशी फौज हटाउन तुरुन्त पहल गरिनेछ’ भन्ने ब्यहोरा थप्न माग गर्नुभएको छ । १९ बुँदामा संशोधन प्रस्ताव पेश गरेका नेमकिपाका सांसद सुवालले बँुदा नम्बर ३६ मा संशोधन प्रस्ताव पेश गर्दै अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालको भूमि डुवानमा पर्ने गरी भारतले बनाएको सीमा बाँध र तटबन्ध भत्काउन आवश्यक कूटनीतिक र कानुनी पहल गर्ने कुरा थप गर्न प्रस्ताव गर्नुभयो । यसैगरी, राष्ट्रिय सभामा संशोधनका सूचना पेश गर्नेमा सांसदहरू हुन, नेकपा (एमाले) का सांसदहरू भगवती न्यौपाने, भैरवसुन्दर श्रेष्ठ र विमला घिमिरे, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शेखरकुमार सिंह र राष्ट्रपतिबाट मनोनित सांसद डा. विमला राई पौड्याल रहेका छन् । उनीहरूले १० बुँदामा संशोधनको सूचना पेश गरेका छन् । डा. राई र पौडेलले बुँदा नम्बर २६ मा संशोधन प्रस्ताव पेश गर्दै प्राङ्गारिक मलमा अनुदानसहित सातै प्रदेशमा प्राङ्गारिक मल कारखाना खोलिने र रासायनिक मलमा अनुदान हटाई आपूर्ति सहज गरी प्राङ्गारिक मलमा अनुदान बढाउन माग गर्नुभयो । उनीहरूले वित्तीय हस्तान्तरणको विषय विरोधाभासपूर्ण भएको, पूर्ववर्ती आयोजना अलपत्र पार्ने गरी आएको, स्वच्छ खानेपानी उपलब्ध गराउने कुरा र बूढीगण्डकी आयोजना तथा सरकारले पूरा गर्नुपर्ने योजना निजी क्षेत्रलाई जिम्मा दिने कुरा सान्दर्भिक नभएको भन्दै संशोधन माग गरेका छन् ।
Home मुख्य समाचार संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूद्वारा ९१ बुँदामा संशोधन प्रस्ताव...
संसदमा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूद्वारा ९१ बुँदामा संशोधन प्रस्ताव दर्ता
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।