काठमाडाैं ।। सङ्घीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएको छ । हिजोको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेपछि गएराति १२ बजेबाट संघीय संसदको अधिवेशन अन्त्य भएको हो । संघीय संसदले सूचना जारी गर्दै संसद अधिवेशन अन्त्य भएकाले आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक र माघ १६ गते स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य भएको बताएको छ । मङ्सिर २८ गते शुरु भएको अधिवेशनमा जम्मा ७ घण्टा ५० मिनेट संसदीय काम कारबाही भएको संसद् सचिवालयले जनाएको छ । यो संसद अधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको थियो । एमाले अवरोधका बीच सञ्चालन भएको बैठकबाट अमेरिकी सहयोग एमसीसी पारित हुनुबाहेक अरु उल्लेख्य काम हुन सकेन ।
यसैबीच संसदको अधिवेशन अन्त्य भएसँगै प्रतिनिधि सभामा छलफलको क्रममा रहेको प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरूद्धको महाअभियोग अड्किएको छ । राणाविरूद्ध ९८ सांसदले दर्ता गराएको महाअभियोग, प्रतिनिधि सभामा छलफलका लागि प्रस्तुत भएको थियो । सम्भवतः आजको बैठकमा उक्त प्रस्तावमाथि छलफल हुने थियो । छलफलपछि जबराविरूद्धको महाअभियोग प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा जानुपर्ने हुन्थ्यो । सरकारले महाअभियोगको प्रस्तावमा छलफल अघि नै अधिवेशन अन्त्य गरेपछि अब महाअभियोगको प्रक्रिया लम्बिएको छ । यस्तोमा राणाविरूद्धको महाअभियोगको प्रक्रिया कम्तीमा २ महिना पर धकेलिएको छ । सरकारले अब अर्को अधिवेशन स्थानीय तहको निर्वाचनपछि बजेट ल्याउनुअघि मात्र बोलाउने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here