काठमाडाैं ।। नेपाल–भारत ऊर्जा सहसचिव स्तरीय बैठक आज बस्दैछ । काठमाडौंको एक होटलमा दिउँसो ३ बजे बैठक बस्ने तयारी भएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीका अनुसार आजको सहसचिव स्तरीय बैठकमा उर्जाको विषयमा छलफल हुनेछ । आजको छलफलबाट निस्कने निश्कर्षलाई भोलि बस्ने सचिव स्तरीय बैठकले अनुमोदन गर्ने उहाँले जानकारी दिनुभयो । समितिको बैठक हरेक ६ महिनामा आयोजना गरिने भए पनि कोरोना महामारीका कारण दुई वर्षदेखि हुन सकेको थिएन । २०७६ असोजको अन्तिम साता भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालको तर्फबाट विद्युत व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्ताव राखिनेछ भने नेपाल विद्युत प्राधिकरणले आगामी मनसुनदेखि झण्डै ८५० मेगावाट विद्युत भारत निर्यात गर्ने प्रस्ताव गरेको छ । नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तर्देशीय प्रसारण लाइन न्यू बुटवल गोरखपुरको थप प्रगतिका बारेमा छलफल हुने जनाइएको छ ।





