काठमाडाैं ।। निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सङ्कलनको काम स्थगित गर्ने निर्णय गरेको छ । हिजो बसेको आयोगको बैठकले मतदाता नामावली सङ्कलनको काम स्थगित गर्ने निर्णय गरेको हो । सरकारले स्थानीय तहको मिति तय गरेपछि आयोगले आजदेखि मतदाता नामावली सङ्कलनको काम रोकिने आयोगका सह प्रवक्ता सूर्य प्रसाद अर्यालले बताउनुभयो । उहाँले नामावली सङ्कलनको काम स्थगित गरेर अद्यावधिक गर्ने काम सुरु हुने बाउनुभयो । सह प्रवक्ता अर्यालले निर्वाचन आयोग निर्वाचनका लागि तयारी अवस्थामा रहेको हुँदा अबको ९५ दिनभित्र निर्वाचनसँग सम्बन्धित सबै काम पूरा गरिसक्ने पनि बताउनुभयो । उहाँले निर्वाचनसँग सम्बन्धित सबै तयारीका लागि आयोगले आजबाटै छलफल गरेर कार्यतालिका तयारीमा जुट्ने जानकारी दिनुभयो । निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्था, जीन्सि लगायत भौतिक तयारीका लागि पनि आयोगले छलफल गर्ने उहाँको भनाइ छ ।





