काठमाडाैं ।। सङ्घीय संसदको दुबै सदनको बैठक आज बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकमा बिभिन्न ६ वटा अध्यायदेश पेश हुने भएका छन् । सङ्घीय संसदका महासचिव भरतराज गौतमले प्रारम्भिक कार्यसूची सार्वजनिक गर्दै गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन अध्यादेश, २०७८, तेजाव र अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्ने कार्यसूची रहेको जानकारी गराउनु भएको छ । कार्यसूची अनुसार भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश पेश गर्नुहुनेछ भने कानून, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्र प्रसाद बडूले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पेश गर्नुहुनेछ । यी अध्यादेश पेश गर्नुअघि प्रतिनिधि सभामा सभामुख र राष्ट्रिय सभामा अध्यक्षले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनुहुने छ । संसद बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी पनि भएको सङ्घीय संसद सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here