काठमाडौँ ।। नेपाली काँग्रेसको १४ औँ महाविधेशन आउन अब तीन दिन मात्रै बाँकी छ । महाधिवेशन केन्द्रित तयारी र छलफल चलिरहेका बेलामा केही नेताकार्यकर्ता भने १३ औँ महाधिवेशनपछिको पार्टीको गति र व्यवहारको समीक्षा गर्दैछन् । काँग्रेस बागलुङ जिल्ला कार्य समिति सदस्य गोविन्दप्रसाद शर्मा कँडेललाई काँग्रेस १३ औँ महाधिवेशनपछि साङगठनिक रूपमा अरु पार्टीभन्दा बलियो हुने लागेको थियो । तर, तीन तहको निर्वाचनमा भोगेको पराजय, प्रतिपक्षी भूमिकामा देखिएको कमजोर उपस्थितीले उहाँ खुसी हुनुहुन्न । उहाँ मात्रै होइन, काँग्रेसका अधिकांश कार्यकर्ता १३ महाधिवेशनपछि गुटको राजनीति सकिने अपेक्षामा थिए । तर, कार्यकर्ता मात्रै नभइ गुटगत राजनीतिले पार्टीका भ्रातृ सङ्गठन नेतृत्वविहीन हुँदा चिन्तित छन् । नयाँ नेतृत्व आएको ४ वर्षसम्म पनि काँग्रेसका शिक्षा, मुस्लिम, सङ्गठन लगायत आधा दर्जनभन्दा बढी विभाग गठन हुन सकेनन् । यसैका कारण नेतृत्वमाथिको प्रश्न बढ्दै गयो भने गुटका आधारमा नेताहरू आरोपप्रत्यारोपमा उत्रिन थाले । क्रियाशील सदस्यता त्यसपछिको अर्का विवादको विषय बन्यो । राष्ट्रिय मुद्दामा पार्टीले ठोस निर्णय र धारणा दिन नसकेको, पार्टीको विधान अनुसार तोकिएको समयमा महाधिवेशन गर्न नसकेको विषयमा नेताहरूबीच पछिल्लो समय एक मत देखिएन । तर, नेता गोपालमान श्रेष्ठ भने पद र भागबन्डाको राजनीतिले पार्टी कमजोर बनेको बताउनुहुन्छ । प्रजातान्त्रिक काँग्रेस र नेपाली काँग्रेसबीच एकता भएदेखि सुरु भएको काँग्रेसभित्रको गुटको राजनीति त्यस यता मासिनेभन्दा झन् झाङ्गिदै गएको नेताहरू ठान्छन् । १४ औँ महाविधेशनपछि गुटको राजनीति अन्त्य गर्न भन्दै नेताहरूले पदाधिकारीमा दावी गरे पनि उनीहरूले नै नेतृत्वमा पुग्न गुट उपगुटको सहारा लिइरहेका छन् ।
काँग्रेसको १४ औँ महाविधेशन आउन अब तीन दिन मात्रै बाँकी, पार्टीको समीक्षा गर्दै कार्यकर्ता
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।