काठमाडाैं ।। यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार अन्तर्गत आज यमराजको दूतका रूपमा कागलाई मीठो खानेकुरा खान दिइन्छ । तिथि घटबढका कारण बिहान त्रयोदशी भएकोले आज काग तिहार मनाउन थालिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार आज बिहान ७ ः १४ बजेसम्म त्रयोदशी तिथि थियो । त्यसपछि चतुर्दशी तिथि लागेको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौमतले बताउनुभयो । आजै कुकुर तिहार पनि मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ । आजबाट चतुर्दशी तिथि लागेपछि कुकुर तिहार मनाउन थालिएको हो । यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरूले सहज रुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेकाले कुकुर तिहारमा कुकुरलाई मीठा परिकार बनाएर खाज दिने परम्परा रहेको छ । कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमासमेत स्थापित भएको छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने भोलि बिहान पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापाक श्रीकृष्ण अधिकारीले बताउनुभयो । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ ।
आज एकैदिन काग र कुकुर तिहार मनाइँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।