रौतहट ।। काेभिड १९ संक्रमण रोकथामका लागि १८ महिना देखि बन्द गरिएको रौतहटको गाैर र भारतकाे बैरगनिया सीमा नाका बुधबार देखि खुलेको छ । गौर र बैरगनिया नाकामा बुधबारदेखि निजी सवारी साधन सञ्चालन भएको राैतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । अशाेज ११ गतेकै मन्त्रीपरिषदले नाका खाेल्ने निर्णय गरे पनि भारतीय पक्षले सवारी आगमनमा रोक लगाएको थियो । आजबाट नाका खोलेपछि दुवै देशका नागरिकहरु कोभिड सुरक्षा सतर्कताको पालना गर्दै आवतजावत गर्न सक्छने भएका छन् । सिमानाका भएर सवारी साधनको आवतजावत खुला भएपछि सीमा क्षेत्रमा बसोबास गर्ने नेपाल र भारत दुबै देशका नागरिकलाई सहज भएको छ । कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ देखि सीमा नाका बन्द गरिएको थियो ।





