काठमाडौँ ।। नेपालका विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको असर देखा परिरहेको छ । कृषि उत्पादनदेखि सामान्य जनजिवनमा समेत जलवायु परिवर्तनको असर देखा पर्न थालेको हो । वन तथा वातावरण मन्त्रालयले भने जलवायु परिवर्तनको असरलाई कम गर्न विद्युतीय सवारी साधन प्रयोगमा जोड दिएको बताएको छ । वन तथा वातावरण मन्त्रालयले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याएको मन्त्रालयका प्रवक्ता डाक्टर बुद्धिसागर पौडेलले बताउनुभयो । जलवायु परिवर्तनको प्रभाव खेती प्रणाली र जनजीवनमा कम गर्न स्थानीयस्तरमै जनचेतना फैलाउनुपर्ने र परम्परागत ज्ञानहरुको अनुकरण गर्नुपर्ने जलवायु परिर्वतन तथा अनुकुलनविज्ञ डाक्टर दीपेन्द्र जोशीले बताउनुभयो । करिब ३० वर्षको समयलाई अध्ययन गरेर जलवायु परिवर्तनको असर पत्ता लगाउन सकिने जोशीले बताउनुभयो । स्थानीयस्तरमा रैथाने जातको बाली लगाउने, वन जङ्गलको संरक्षण गर्ने लगाएतका कार्यक्रम स्थानीय सरकारकाबाटै हुनुपर्ने जोशीको सुझाव छ । जलवायु परिर्वतनका कारण पछिल्लो केही वर्ष यता कृषि बालीमा विभिन्न किसिमका रोग, किरा लाग्न थालेको ३० वर्षदेखि कृषि पेशा गर्दै आउनुभएका हेटौडा उपमहानगरपालिका १२ का महानन्द सापकोटाले बताउनुभयो । गर्मीमा धेरै गर्मी, जाडोमा धेरै जाडो हुने, समयमा हिमपात नहुने, वर्षा नहुने लगायतका असरसमेत देखिने गरेको छ । नेपालमा प्रतिवर्ष औसत ०.०४ डिग्री सेल्सियसका दरले बढिरहेको तापक्रम विश्वव्यापी औसत वृद्धिभन्दा धरै बढी हो । त्यसमा पनि उच्च हिमाली र पहाडी क्षेत्रमा तापक्रम वृद्धिको दर अझै उच्च छ । जसका कारण समुदायको जनजीविकामा प्रभाव पर्न थालेको छ । सरकारले २०७६ सालमा राष्ट्रिय जलवायु परिवर्तन नीति लागु गरे पनि तल्लो तहमा कार्यक्रम पुग्न सकेका छैनन् ।
कृषि र दैनिक जिवनमा जलवायु परिवर्तनको असर देखा पर्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।