काठमाडाैं ।। लगातारको वर्षाका कारण मुलुकका बिभिन्न नदीहरूमा पानीको सतह बढ्ने क्रम जारी रहेको भन्दै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । मौसम विज्ञान विभाग अन्तर्गतको महाशाखाका अनुसार आज बिहान साढे ५ बजेको मापन अनुसार सिन्धुली जिल्लास्थित कमला नदी, रानीबास बाढी मापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको छ । जसका कारण धनुषा, सिराहा लगायत तल्लो तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा बाढी आउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ । त्यस क्षेत्रका बासिन्दाहरुलाई बाढीको पूर्व सूचना निरन्तर लिइरहन तथा आवश्यक सतर्कतासहित तयारी अवस्थामा रहन महाशाखाले भनेको छ । तनहुँको बन्दीपुर, विमलनगर, सखर तथा चितवनको कालीखोला वर्षा मापन केन्द्रमा पनि भारी वर्षा मापन भएका कारण त्यस क्षेत्रका ससाना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने, तथा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाले जनाएअनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भई एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भइरहेको छ । बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो भने देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा तथा थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here