काठमाडौं ।। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनु भएको छ ।
हिंसात्मक द्वन्द्वमा रहेको नेकपा (विप्लब समूह) सँग तीनबुँदे सहमति भएपछि मुलुकमा अब द्वन्द्वात्मक हिंसाको अन्त्य भएको प्रष्ट पार्नुभयो ।
सरकार र नेकपा (विप्लब समूह) बीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोहमा शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले उक्त कुरा बताउनु भएको हो ।
नेपाल र नेपाली जनताले शान्ति खोजेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने अवसरको प्राप्ती, लोकतन्त्रको रक्षा र शान्ति चाहेको उहाँले चर्चा गर्नुभयो
‘समृद्ध नेपाल सुखी नेपाली’ स्थापित गर्न शान्तिपूर्ण वातावरणको आवश्यकता पर्ने भन्नुहुँदै प्रधानमन्त्री ओलीले महासचिव चन्दले ऐतिहासिक जिम्मेवारी वहन गर्नुभएको भन्दै सरकार र पार्टीको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
‘यो क्र्यास ल्याण्डिङ होइन, सेफ ल्याण्डिङ हो’ प्रधानमन्त्री अ‍ोलीले भन्नुभयो–’यो रातारात गरेको सहमति होइन, लामो समयपछिको उपलब्धिको परिणाम हो ।’विप्लब पक्षसँग छलफल र वार्ता गरेको दशौं वर्ष पुगेको उहाँले स्मरण गर्नुभयो ।सहमति कार्यान्वयनको चरणमा कुनै समस्या आए वार्ताद्वारा सहमति खोजिने प्रष्ट पार्नु हुँदै प्रधानमन्त्री ओलीले भन्नु भयो –‘यो सहमतिले नेपाललाई नयाँ युगमा प्रवेश गराएको छ ।’
यसअघि सिके राउतसँग पनि यसैगरी वार्ताबाट सहमति गरी शान्तिको मूलधारमा ल्याएको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो ।शान्तिको नयाँ युगमा नेपाल प्रवेश गरेपछि नेपालको समृद्धि अब असम्भव नहुने बताउनुभयो ।
साहसिक कामको शुरुवातमा सहभागी हुनु भएको भन्दै महासचिव चन्दलाई प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुहुँदै मुलधार राजनीतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।
वार्ता टोलीमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सबै नेतालाई प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुभयो ।प्रत्यक्ष, परोक्ष, प्रकट अप्रकट ढङ्गले योगदान दिने सबैलाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।
यस खुशीको दिन, सफलताको दिन, देशले जितेको दिनलाई सार्थक बनाउने सबै पक्षलाई धन्यवाद व्यक्त गर्नुभयो ।प्रधानमन्त्री ओली र नेकपा (विप्लब समूह) का महासचिव नेत्रविक्रम चन्द २ बजेर ४८ मिनेटमा राष्ट्रिय सभा गृहमा प्रवेश गर्नु भएको थियो ।कार्यक्रममा दुवै पक्षका चार–चार जना नेताहरु मञ्चमा आसीन रहनुभयो ।
प्रधानमन्त्रीको दायाँ भागमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ आसीन रहनुभएको थियो ।
त्यसैगरी महासचिव चन्दको बायाँ भागमा खडगबहादुर विश्वकर्मा, उदयबहादुर चलाउने ‘दीपक’ र अन्य नेताहरु बस्नुभएको थियो ।फागुन १८ गते मंगलबार सरकारको तर्फबाट र नेकपा ९विप्लब समूह० ले अलग अलग वार्ता टोली गठन गर्नुभएको थियो ।
दुवै समूहबीचको वार्तापछि २० गते बिहीबार तीनबुँदे सहमति भएको थियो । कार्यक्रमको सञ्चालन डा।राजन भट्टराईले गर्नुभएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here