काठमाडौँ ।। प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा नियमित रेल सञ्चालन हुने दावी गरेका छन्।
शुक्रबार काठमाडौँको दरबार मार्गमा आयोजित नेकपा ओली समूहले गरेको सभालाई सम्बोधन गर्दै ओलीले रेल नेपाल भित्रिसकेको र अब नियमित सञ्चालन हुने बताएका हुन्।
उनले भने, ‘नेपालमा रेल ल्याएका छौँ। अब केहीदिन भित्रबाट नियमित रुपमा सञ्चालन गर्दैछौँ।’
पूर्व–पश्चिम रेल मार्ग निर्माण सुरु भएको भन्दै प्रधानमन्त्री ओलीले काठमाडौँ– रक्सौल रेल मार्गका लागि भारतसँग सम्झौता भइसकेको बताए। चीनतर्फ पनि रेलमार्गको सम्बन्धमा सहमति भएको उनको दावी छ।
उनले भने, ‘पूर्व–पश्चिम रेलको बाटो हामी निर्माण गर्दैछौँ। केही ठाउँमा निर्माण सुरु भएको छ। काठमाडौँ–रक्सौल रेलमार्ग भारतसँग सम्झौता भएर डीपीआर भएको छ। अब त्यसको काम सुरु हुन्छ। चीनतर्फ रेलमार्गको सम्बन्धमा हामीले सहमति गरेका छौँ।’





