काठमाडौं ।। नेकपाको दाहाल-नेपाल खेमाका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम सच्याएर आफ्नो गल्तीप्रति पश्चात्ताप गरेर सबै कुरा बिर्सन तयार रहेको बताएका छन् ।
नेकपाको उक्त खेमाले मंगलबार आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै उनले ओलीले पश्चात्ताप गरे आफूहरु टेबलमा बसेर सहमतिका लागि छलफल गर्न तयार रहेको बताए । ‘उहाँ गल्तीप्रति पश्चात्ताप गर्न तयार भए बसेर टेबलटक गर्न सकिन्छ,’ उनले भने, ‘तर, यदि उनी सच्चिन तयार हुँदैनन् भने भिरबाट लडेको गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्नँ ।’
ओलीले गल्ती नसच्याए ओलीको सबै कुरा पत्तासाफ भएर जाने जिकिर गरे । उनले ओलीको असंवैधानिक कदमविरुद्ध सबै शक्ति एकतावद्ध भएर संघर्ष गरिने बताए ।
नेपालको संविधानमा प्रतिनिधिसभाको सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने उल्लेख गरिएको स्मरण गराए । उनले यस्तो अवस्थामा सरकार काम चलाउ हुने भन्दै ओलीले अझै पनि पद बाँढ्न लालायित रहेको बताए । ‘म तिमीलाई मन्त्री बनाइदिन्छु, राजदूत बनाइदिन्छु, टिकट दिन्छु भन्दै र्याल चुहाउनेहरुलाई लोभ्याउन खोजिरहेका छन्,’ उनले भनेका छन्, ‘तर धेरै कमरेडहरुले ओलीको लालचलाई अस्वीकार र बहिस्कार गरिरहेका छन् ।’
उनले बालुवाटारको बैठक सानो गुटको भेला मात्र भएको र आधिकारिक लाइन आफ्नो भएको जिकिर गरे ।
उनले १०० जनाको सानो गुटले साढे ३ सयको बहुमतलाई चुनौती दिन नसक्ने भन्दै सूर्य चिन्ह आफ्नै समूहको रहने बताए ।
Home मुख्य समाचार ओलीले असंवैधानिक कदम सच्याएर आफ्नो गल्तीप्रति पश्चात्ताप गरेर सबै कुरा बिर्सन तयार...
ओलीले असंवैधानिक कदम सच्याएर आफ्नो गल्तीप्रति पश्चात्ताप गरेर सबै कुरा बिर्सन तयार : नेपाल
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












