काठमाडौं ।। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारसँग कोरोना संक्रमितको निःशुल्क उपचार गर्न आग्रह गरेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर कोरोना भाइरसको परीक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने भनि सरकारले गरेको निर्णय निन्दनीय र लज्जास्पद भएको बताउनुभएको छ । सभापति देउवाले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेका हुन् ।
“म नेपाल सरकार र मा. प्रधानमन्त्रीलाई कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरी नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निस्सर्त, भेदभावबिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु,” उनले भनेका छन् ।सभापति देउवाले विषम् परिस्थितिमा जनताको जीवननै कष्टकर भएको यथार्थतर्फ संवेदनशील भई जनताको हितमा काम गर्न पनि सरकारसँग आग्रह गरेका छन् ।