काठमाडाैं ।। सरकारले कोरोनाविरुद्धको खोपका बारेका बिभिन्न अफवाह फैलाइएको भन्दै सर्वसाधारण नागरिकलाई निर्धक्कका साथ खोप लगाउन अनुरोध गरेको छ । कोरोना महामारीबाट जोगिनका लागि एक मात्र विकल्पको रुपमा रहेको कोरोनाविरुद्धको खोप सम्बन्धी विभिन्न हल्ला र भ्रम अझै पनि मानिसहरुमा रहेको भन्दै सरकारले निर्धक्कसाथ खोप लगाउन आग्रह गरेको हो । पछिल्लो समय नेपालमा कोभ्याक्स सुविधामार्फत् आएको अमेरिकी जोन्सन एण्ड जोन्सनको खोपले नकारात्मक असर पारेको हल्लाहरु सुनिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रमको पछि नलाग्न भनेको मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले बताउनुभयो । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप ज्यान्सिन १५ लाख ३४ हजार ८ सय ५० मात्रा आएको र हालसम्म १० हजारभन्दा बढीले लगाइसकेका छन् ।






