काठमान्डु।। नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

दैलेखको क्वारेन्टाईनमा हिजो बिहान मृत्यु भएका एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मी नारायण तीवारीले बताउनुभयो । उहाँले दुल्लु नगरपालिका–११ का ३५ वर्षका पुरुषको आज बिहान अकस्मात् मृत्यु भएको र उनमा कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख गर्नुभएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार चार सय ६ पुगेको छ । पछिल्लो समय पर्सामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २४ घण्टामा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १४ सय नाघेको बताउनुभयो । पछिल्लो २४ घण्टामा कपिलवस्तुमा सबैभन्दा धेरै १०९ जना संक्रमित थपिएका छन् । त्यस्तै, सर्लाहीमा १७, दैलेखमा १४ जना, सिरहामा ११, सप्तरीमा ९, धनुषामा ७, रौतहटमा ६ र दाङ ५ जनामा कोरोना संक्रमण देखिएको छ । महोत्तरीका ४, पर्सामा ९, संखुवासभामा २ तथा झापा, ललितपुर, र बारामा १÷१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म २ सय १९ जना निको भएर घर फर्किइसकेका छन् ।

पछिल्लो २४ घण्टामा १४ जना डिस्चार्ज भएका हुन् । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ पुगेको छ । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ । साथै विभिन्न प्रदेशमा पिसीआर परिक्षणका क्रममा आवश्यक पर्ने भिटिएम पनि पठाईएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here