मुम्बई ।। भारतीय फिल्म ’सन अफ सरदार २’ ले कमाइमा अर्को फिल्म ’धडक २’ लाई धेरैले पछि पारेको छ । गत शुक्रबार एकसाथ रिलिज ’सन अफ सरदार २’ ले ’धडक २’ को भन्दा दोब्बर बढी कमाएको हो ।
भारतीय संचारमाध्यमका अनुसार ’सन अफ सरदार २’ ले पहिलो चार दिनमा सोमबारसम्म भारतमा २७ करोड २५ लाख भारू नेट कमाइ गरेको छ । सोही समयमा ’धडक २’ को कमाइ १२ करोड ८० लाख भारू छ । अजय देवगनको प्रतीक्षित फिल्म मानिएको कमेडी ड्रामा ’सन अफ सरदार २’ ले पहिलो दिन ७ करोड ५० लाख भारू कमाएको थियो। फिल्मले शनिबार ८ करोड २५ लाख, आइतबार ९ करोड २५ लाख र सोमबार २ करोड ५० लाख कमाएको हो । त्यस्तै, करण जोहर निर्मित ’धडक २’ ले शुक्रबार ३ करोड ५० लाख कमाएको थियो। फिल्मले शनिबार ३ करोड ७५ लाख, आइतबार ४ करोड १५ लाख र सोमबार १ करोड ४० लाख कमाएको हो । ’सन अफ सरदार २’ को कुरा गर्दा यसमा अजयसहित मृणाल ठाकुर, रवि किशन, सञ्जय मिश्रालगायत कलाकारहरू छन् । विजय कुमार अरोराले निर्देशन गरेको यो फिल्म जियो स्टुडिओ र देवगन फिल्मस्ले प्रस्तुत गरेको हो भने अजय देवगन र ज्योति देशपाण्डे निर्माता हुन् । त्यस्तै, ’धडक २’ सिद्धान्त चतुर्वेदी र तृप्ती डिमरी अभिनीत लभस्टोरी फिल्म हो। यसलाई जी स्टुडिओ, धर्मा प्रोडक्सन र क्लाउड ९ पिक्चर्सले प्रस्तुत गरेको हो ।
शाजिया इकबालको निर्देशन रहेको फिल्म करण जोहरसहितले निर्माण गरेका हुन् । यी दुवै फिल्म नेपालका सिनेमा हलमा पनि एकसाथ प्रदर्शन भइरहेका छन् ।
’धडक २’ लाई धेरैले पछि पार्दै ’सन अफ सरदार २’ कमाइमा दोब्बरले अगाडि
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।