राैतहट ।। लागूऔषध गाँजा र हतियार सहित मङ्गलवार एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक उमाशङ्कर गुप्ताको कमान्डमा खटिएको टोलीले ईशनाथ नगरपालिका – १ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट गौर नगरपालिका – ४ निवासी २१ वर्षीय सावन गिरीलाई लागूऔषध र हतियार सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले गिरीको साथबाट १ क्विन्टल ९ किलोग्राम लागूऔषध गाँजा र ८ एमएम केएफ लेखिएको लोडेड कटुवा पेस्तोल एक थान, ८ एमएम केएफ लेखिएको ३ राउन्ड गोली, रियलमी कम्पनीको स्क्रिनटच एक थान मोबाइल पनि बरामद गरेको प्रहरी निरीक्षक उमाशङ्कर गुप्ताले जानकारी दिए । पक्राउ परेको गिरीलाई जिल्ला अदालत रौतहटमा प्रेस गरी लागूऔषध तथा हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको रौतहट प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेले बताए ।
प्रहरीका अनुसार गिरीको साथमा रहेको अन्य ६/७ जना व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको छ ।