जनकपुर ।। मिटरब्याज पीडितसँग उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले छलफल गरेका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा रहेका मन्त्री लामिछानेले आज मिटरब्याज पीडितसँग छलफल गरेका हुन् ।
छलफलका क्रममा मन्त्री लामिछानले समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले भर्खरै काम थालेको जानकारी दिए । उनले जिल्ला स्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन आयोगले पुनः माग्ने र घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने आश्वासन दिए ।
मन्त्री लामिछानेले घटना विशेष अध्ययन गरी आयोगले निष्कर्ष दिने भएकाले केही समय धैर्य गर्न पनि आग्रह गरे। छलफलमा पीडित पक्षले साहुकारको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताबिक आफूहरूमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए ।
उनीहरूले पुरानो आयोगले समय अभावका कारण टुङ्ग्याउन नसकेका निवेदन जो जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो, सो नयाँ आयोगलाई हस्तान्तरण गरिनुपर्ने माग समेत गरेका थिए। पुराना निवेदन उपर कारबाही प्रक्रिया अगाडि बढाउने बहानामा इलाका प्रहरी कार्यालय र प्रहरी चौकीले पीडितको इच्छा बेगर जबरजस्ती मिलापत्र गराउने काम भइरहेकोबारे पनि उनीहरूले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा गृहमन्त्री लामिछानेले प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुरमा भेला भएका मधेसका सबै प्रजिअ र प्रहरी प्रमुखलाई आवश्यक निर्देशन दिने बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here