राैतहट ।। तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । विगत केही दिनदेखि मधेस प्रदेशको रौतहट, बारा, पर्सा, धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । चिसोका कारण कमै मानिसहरु मात्रै घर बाहिर निस्किरहेका छन् । बालबालिका र जेष्ठ नागरिकहरु चिसोबाट बढी प्रभावित भएका छन् । त्यस्तै बाहिर श्रम गर्ने श्रमिकहरुलाई चिसोले सताएको छ । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउने सङ्ख्यामा समेत वृद्धि भएको अस्पतालहरुले जनाएका छन् । अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेका छन् । शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन् । ग्रामीण भेगमा दाउरा नहुँदा स्थानीय गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ । चिसोबाट बच्न मानिसहरु ठाउँ ठाउँमा आगो तापेर बस्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here