ललितपुर ।। ललितपुरको बालकुमारीमा आन्दोलनरत एक जनाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे छ। मृत्यु हुनेमा २३ वर्षीय युवा कर्णाली प्रदेशका सुजन राउत रहेकाे छ । कोरिया जानका लागि इपिएस भाषा परीक्षा दिन आवेदन दिन नपाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने गाडी जलाएका आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि थप एक जना गम्भीर घाइते भएका छन् । प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा करिब एक दर्जन जनालाई नियन्त्रणमा लिएको जनाएको छ । सिप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका युवाहरुले अन्य क्षेत्रमा पनि परीक्षा दिन पाउनुपर्ने भन्दै आन्दोलन थालेका हुन् । इपिएस कार्यालयले भने सिप बिल्डिङमा परीक्षा दिएकाहरु अन्य क्षेत्रका लागि भाषा परीक्षा दिन नपाउने व्यवस्था गरेको थियो । उक्त व्यवस्थाविरुद्ध अदालतमा रिट दायर गरि आफ्नो पक्षमा अन्तरिम आदेश पार्न सफल १८ जनाले भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा फारम भर्न पाएका छन् । सिप बिल्डिङमा अनुत्तीर्ण भई उत्पादनमूलक क्षेत्रका लागि परीक्षा फारम भर्न नपाएका करिब २८ हजार युवा आन्दोलित भएका हुन् ।
बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।