बारा ।। बाराको एक नगरपालिकाकी उपमेयर माथि कुटपिट भएको छ। शनिबार पचरौता नगरपालिकाकी उपमेयर नासिमा खातुनमाथि एक समूहले उनकै घरमा छिरेर खातुन र उनका श्रीमान् नेवाजी अन्सारीमाथि कुटपिट गरेका हो।
पचरौता नगरपालिका २ नम्बर वडाका वडाध्यक्ष मनोज यादवको समूहले साँझ साढे ७ बजेतिर उपमेयर खातुनको घरमा गएको र उनीमाथि कुटपिट गरेको पचरौता नगरपालिका मेयर जलन्धरसिंह जैसवारले बताए । कुटपिटबाट खातुन र उनका श्रीमान घाइते छन्। उनीहरूको एलेक्स न्युरो अस्पतालमा उपचार भइरहेको नगरप्रमुख जैसवारले जानकारी दिए।
बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले भने घटना सामान्य भएको बताए । ‘दुई पक्षबीच भएको सामान्य झडप हो, कुटपिट होइन,’ उनले भने । झडपमा वडाध्यक्ष पाण्डेको संलग्नता नरहेको पनि एसपी बोगटी बताउँछन्। अस्पतालले सामान्य चोटपटक लागेकालाई पनि आइसियूमा राखेको उनले बताए । ‘यहाँका अस्पताल त्यस्तै छन्, सामान्य बिरामीलाई पनि आइसियुमा राखिदिन्छन्,’ उनले भने । घटनाबारे अहिलेसम्म प्रहरीमा उजुरी नआएको बोगटीले बताए । मेयर जैसवारका अनुसार वडाध्यक्ष यादवले सात महिनाअघि पनि उपप्रमुख खातुनमाथि आक्रमण गरेका थिए। यसपालि खेलकुदको बजेटबारे विवाद भएका कारण उनले उपप्रमुखमाथि कुटपिट गरेको उनले बताए ।
जैसवारका अनुसार वडाध्यक्ष यादव मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवका भान्जा हुन्। उपराष्ट्रपति रामसहाय प्रसाद यादवदेखि जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्रीसम्म मनोजको सिधा पहुँचको भएकाले प्रहरीले समेत उनको संरक्षण गरेका जैसवार बताउँछन् ।
यसअघिका कैयौं घटनामा वडाध्यक्ष यादवविरूद्ध जाहेरी लिएर गए पनि एसपी बोगटीले जाहेरी दर्ता गर्न नदिएको मेयर जैसवार बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here