वीरगंज ।।। संयुक्त विद्यार्थी सङ्गठनले प्रेस विज्ञप्ति प्रकाशित गरेर आज मंगलवार वीरगंजका सम्पूर्ण शैक्षिक संस्था बन्द घोषणा गरेका छन् । ठाकुर राम बहुमुखी क्याम्पसका परीक्षा केन्द्र बाराको कलैया र सिमरामा राखिएकाेमा आपत्ति जनाउँदै विद्यार्थी सङ्गठनले वीरगंजका सम्पूर्ण शैक्षिक संस्था बन्द घोषणा गरेका छन् । साेमवार सिमराबाट ब्याचलर तेस्रो वर्षको बोर्ड परीक्षा दिएर घर फर्किने क्रममा पोखरिया नगरपालिका घर भएका विजय शर्माको दुर्घटनामा मृत्यु भएकाे थियाे भने पोखरिया नगरपालिका वडा नम्बर १ का अन्दाजी २३ वर्षिय अर्जुन सहनी गम्भीर घाइते भएका छन् । सिमराबाट वीरगंजतर्फ जादै गरेको प्रदेश नं. २ -०३-०१८ प ९६० नम्बरको मोटरसाईकल जीतपुरसिमरा(२३ भलुहिमा अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल पछाडी सवार शर्माको नारायणी मेडिसिटि वयोद्धया अस्पतालमा मृत्यु भएको थियो । विद्यार्थीहरूले होम सेन्टरको माग गर्दै आएका छन् तर केही वर्षदेखि यहाँको परीक्षा सिमरा र कलैयामा लिइँदै आइएको छ । टाढा आवतजावतमा समस्या हुने भन्दै परीक्षा केन्द्रको विरोध भइरहेका बेलामा दुर्घटना भएर एकजना विद्यार्थीको मृत्यु भएको हो । घटनाको विरोधमा ठाकुर राम बहुमुखी क्याम्पसको संयुक्त विद्यार्थी सङ्गठनले प्रदर्शन गरेको थियो । क्याम्पस प्रशासनविरुद्ध ठाकुर राम बहुमुखी क्याम्बसबाट जुलुस निकालेर नगरपरिक्रमा गरिएको थियो । विद्यार्थी र प्रहरीबीच झडप भएको थियो भने आठ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो क्रममा आक्रोशित विद्यार्थीहरूले बजार बन्द गराएका थिए ।













