काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले १० दलीय गठबन्धन पाँच वर्षसम्म टिक्ने ठोकुवा गरेका छन्।
प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मत माग्ने प्रस्तावमाथिको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले फागुन १२ गते बनेको १० दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरेका हुन्।
‘फेरी अर्को वैशाखमा विश्वासको मत लिनुपर्ने अवस्था त आउँदैन? म अस्वभाविक ठान्दिनँ। तर, त्यो अवस्था आउँदैन भन्ने मलाई विश्वास छ। यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ। यही गठबन्धनले राजनीतिक स्थायित्व दिन्छ। देशलाई विकासको बाटोमा अगाडि लिएर जान्छ,’ उनले भने।
अध्यक्ष नेपालले राष्ट्रका सामु रहेका सबै चुनौतीको समना गर्न यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे।
‘संख्याले मात्र हुँदैन। मैले पनि २१ महिनासम्म २२ वटा पार्टीलाई लिएर बिना समस्या अन्तिम बिन्दुसम्म पुर्याउन सकिएको थियो। नेपालको राजनीति कस्तो हुन्छ भन्ने मलाई पनि हेक्का छ। अहिलेको घटकहरुको सोच पाँच वर्ष टिकाउ हुन्छ भन्ने मलाई विश्वास छ,’ उनले भने।





