सर्लाही ।। सरकारले समयमै उखुको समर्थन मूल्य नतोक्दा उखु किसानमा समस्यामा परेका छन् । चिनी मिल सञ्चालन हुन थालेपछि किसानले मिललाई उधारोमै उखु बुझाइरहेका छन् । बेलैमा मूल्य नतोकिने, मूल्य तोक्दा पनि चिनीको बढ्दो भाउ अनुसार उखुको मूल्य नपाइने र उखु बेचेपछि चिनी मिल तथा सरकारसँग पैसा लिन आन्दोलन नै गर्नुपर्ने बाध्यताले किसान हैरान छन् । मंसिर पहिलो सातातिरै चल्ने तराईका चिनी मिलले पुस लागेपछि बल्ल उखु क्रसिङ थालेका छन् । सरकारले उखुको समर्थन मूल्य तोक्न ढिलाई गरेका कारण उखू क्रसिङमा पनि ढिलाई भएको हो । केही वर्षदेखि उखु खेति घटेसँगै चिनी मिलहरु ढिलो सञ्चालन र छिटै बन्द हुन्छन् । सर्लाही महिनाथपुरका उखु किसान शिवजी साह उखु बेच्न नपाउँदा घर खर्च चलाउनै समस्या भएको बताउनुहुन्छ । किसानले टायरगाढा, ट्याक्टर र ट्रकमार्फत मिलसम्म उखु पु¥याउँछन् । उखु किसानले चिनीको मूल्य बढे अनुसार उखुको मूल्य पनि वृद्धि गर्नुपर्ने आवाज हरेक वर्ष उठाउँदै आएका छन् । तर, सरकारले किसानको मिहेनत अनुसारको मूल्य तोक्न सकेको छैन् । यो वर्ष उखु किसानलाई सरकारले उखुको मूल्य तोक्न छलफलमा समेत बोलाएको छैन । नयाँ सरकार नबन्दा मूल्य तोक्न ढिलाई भएको किसानको बुझाई छ । उनिहरु काट्ने बेला भइसकेको उखु खुरुखुरु चिनी मिलमा लगेर बुझाइरहेका छन् । सरकारले पछि मूल्य तोक्ला र त्यही अनुसार भुक्तानी लिउँला भन्ने किसानको आशा छ । नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली सरकारको यस्तै रबैयाले किसान उखु खेतीबाटै पलायन हुन थालेको बताउनुहुन्छ । तर कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले उखुको बिक्री मूल्यबारेमा किसान, उद्योगी र सरकार तीनै पक्षबीच छलफल भएको बताउनुभयो । मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य तोकेर मन्त्रीपरिषद्मा पठाएको उहाँको भनाइ छ । नयाँ सरकार गठनको प्रक्रिया सुरु भएकाले उखुको समर्थन मूल्यबारे तत्काल निर्णय हुने सम्भावना कमजोर देखिएको छ । प्रवक्ता सञ्जेलका अनुसार अझै उखुको मूल्य निर्धारण गर्न हप्ता दश दिन लाग्न सक्छ । तर यसपटक मन्त्रालयले उखुको मूल्य भने बढाएर पठाएको छ । किसान र उद्योगी दुवै पक्षलाई चित्त बुझ्ने गरी उखुको मूल्य निर्धारण गरिएको हो । चिनीमा देशलाई आत्मनिर्भर बनाउने चर्चा भइरहँदा किसान भने उखु खेति छाडेर अन्य खेतिमा लागेका छन् भने उखु नपाएर चिनी मिल बन्द हुने क्रम बढ्दो छ । १० वर्षअघि आर्थिक वर्ष २०६९÷०७० मा देशभर २ करोड ३६ लाख उखु उत्पादन भएकोमा अहिले त्यो घटेर करिब १ करोड ५० लाख क्वीन्टलको हाराहारीमा आइपुगेको छ ।





