काठमाडाैं ।। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले वर्तमान सत्ता गठबन्धन कम्तिमा पाँच वर्षसम्म कायम रहने बताएका छन् ।
लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए । ०७४ को निर्वाचनबाट जनताले स्थिरता र विकासका लागि मत दिए पनि तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपीको घमण्ड र अहंकारका कारण पाँच वर्ष खेर गएको उनको भनाइ थियो । उनले निरंकुश चरित्रका ओलीमा आफैं सर्वेसर्वा भएको मात चढेको र पार्टीभित्र विरोध भएपछि दुईपटकसम्म संसद विघटन गरेको टिप्पणी गरे ।
‘प्रधानमन्त्री र सरकार चलाउने दलको अध्यक्षका हैसियतमा केपी ओलीले मति बिगार्नुभयो । उहाँमा निरंकुशता र व्यक्तिवादको भूत सवार भयो । म एक्लैले दुनियाँ थामेको छु जस्तो गर्न थाल्नुभयो ।’ पुनले ओलीले प्रदेश र स्थानीय तहलाई अधिकार दिन आनाकानी गरेको पनि बताए । राज्यशक्ति र स्रोतलाई एकीकृत गरेको आरोप उनले लगाए । ओलीले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत काम गरेको पनि पुनको आरोप थियो । न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनमा हस्तक्षेप गरेको आरोप पुनको छ । पार्टीभित्रको अन्तरसंघर्षलाई देखाएर ओलीले दुईपटक संसद विघटन गरेको पुनको भनाइ छ । निरंकुशतालाई रोक्न र प्रतिगमन सच्याउनका लागि गठबन्धन निर्माण भएको पुनले उल्लेख गरे । जनताको अधिकार संरक्षण र संविधानको रक्षाका गठबन्धन बनेको भन्दै पुनले गठबन्धन पाँच वर्षपछिसम्म जान सक्ने आधार रहेको उल्लेख गरे ।
राजनीतिक व्यवस्था परिवर्तनपछि अब मुलुकको आर्थिक अवस्था परिवर्तनको समय आएको बताए । पुनले विगतमा भन्दा विकासका काममा गति आइरहेको पनि बताए । एकात्मक राज्य व्यवस्थाको अन्त्यसँगै स्थानीय तहसमेत अधिकार सम्पन्न भएकाले समन्यायिक विकासको अवधारणा अघि बढेको नेता पुनको भनाइ छ । सभालाई सम्बोधन गर्दै उनले भने, ‘हामीले व्यवस्था बदल्यौँ । अब अवस्था बदल्छौँ । विगतमा भन्दा विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्रहरुको निर्माण तीव्र गतिमा भइरहेको छ । हाम्रो निर्वाचन प्रणालीले कुनै एक दललाई बहुमत दिँदैन । राजनीतिक स्थायित्व चाहिएको छ, अर्कातिर विकास चाहिएको छ । जनताको अवस्था बदल्नु छ ।’
विगतका विचार मिल्ने वामपन्थी दलसँग चुनावी तालमेल र एकीकरण गएर गए पनि लक्ष्य अनुसार काम नभएकाले अहिले कोर्ष करेक्सन गरिएको तर्क पुनले गरे । रोल्पाका ३० वर्षमा काँग्रेस र माओवादी मिलेको भन्दै उनले बागीलाई कुनै हातलमा सहयोग नहुने बताए । रोल्पाको प्रदेश (ख) मा माओवादी केन्द्रका दिपेन्द्र पुनले बागी उम्मेदवारी छन् ।
सो प्रदेशमा काँग्रेसका अमरसिंह पुन सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । राजनीतिमा भित्री र बाहिरी कुरा नहुने भन्दै पुनले काँग्रेसका पुनलाई जिताउने जिम्मा माओवादीले लिने उल्लेख गरे ।
ओली तन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बन्याे-पुन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।