काठमाडाैं ।। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर तत्काल अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
आइतवार काठमाडौंमा आयोजित ‘विश्वको भू–राजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै प्रधानमन्त्री देउवालाई भेटेर एसपीपीमा सहभागी नहुने भनेर अमेरिकालाई पत्राचार गर्न आग्रह गरेको उनले बताए ।
‘हामी आफ्नो देशको हितको निम्ति सजग हुनुपर्ने आवश्यक्ता छ । विडम्बना भनौं कम्युनिष्ट पार्टीकै नेता प्रधानमन्त्री भएको बेलामा एमसीसीलाई नेपालमा भित्र्याइयो । त्यस मार्फत, आईपीएसमा जोडिने स्थितिमा पनि पुग्यो’, नेपालले भने ।
आफूहरूले बुद्धिमत्तापूर्वक एमसीसीलाई पार लगाएको नेपालको दाबी छ । ‘एमसीसी आर्थिक सहयोगको सम्झौताबाहेक अरु किसिमको सम्झौता हुन्छ भने हामी त्यसलाई स्वीकार गर्दैनौँ । त्यस्तो भयो भने हामी ३० दिनको सूचना दिएर हामी त्यहाँबाट बाहिरिन्छौँ भनेका छौँ’, नेपालले भने ।
एसपीपीको सम्बन्धमा पनि गुमराहमा राख्ने प्रयास भएको नेपालले बताए । ‘एसपीपी सम्झौंता भएको कि भएन, थाहा नै भएन । पछि त भइसकेको रहेछ । नेपालले चिठी पठाएको रहेछ । त्यो पनि आर्मीले नै पठाएको रहेछ । आर्मीले पठाउनै नहुने । त्यो पनि सरकारको स्वीकृति लिएर पठाएको रहेछ । त्यो पनि कम्युनिष्ट पार्टीको प्रधानमन्त्री भएको बेलामा । विडम्बना होइन ?’, नेपालले भने । त्यसबेला प्रधानमन्त्री देउवालाई दबाब दिएर एसपीपी सम्झौता रोक्न सफल भएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here