काठमाडाैं ।। काम गर्ने वातावरण राम्रो भएका कारण मलेसियामा नेपाली कामदारको आकर्षण देखिए पनि फ्रि भिसा र फ्रि टिकट कार्यान्वयन हुन सकेको छैन । नेपाल र मलेसियाबीच २०७५ कात्तिक १२ मा भएको श्रम सम्झौताअनुसार मलेसियाका रोजगारदाता कम्पनीहरूले शून्य लागतमा नेपाली कामदार भर्ना गर्नुपर्ने व्यवस्था छ । नेपाली कामदारहरूको भिसा तथा टिकटको शुल्क रोजगारदाताले नै व्यहोर्नेुपर्ने भए पनि मलेसिया जानेहरूले कम्तिमा एक लाखदेखि तीन लाखसम्म खर्च गरिरहेका छन् । मलेसिया जाने तयारीमा रहनुभएका सर्लाहिका रामबहादुर खत्रीले आफुसँगै अन्य ११ जनाको समुहले एक लाख रुपैयाँ तिर्नुपर्ने अवस्था आएको बताउनुभयो । वैदेशिक रोजगार विभागले भने रकम तिरेर नजान बरु उजुरी गर्न आग्रह गरेको छ । मलेसिया जान मेनपावर कम्पनीले रकम मागे विभागमा उजुरी गर्न विभागका निर्देशक तथा सुचना अधिकारी कृष्णप्रसाद भुसालले अनुरोध गर्नुभयो । मलेसियाका लागि सरकारले सेवा शुल्क वापत १० हजार रूपैयाँ लिनसक्ने व्यवस्था छ । विभागको तथ्याङ्क अनुसार हाल मलेसियामा करिव तीन लाख नेपाली कार्यरत छन् । कोरोना सङ्क्रमण रोकथामका लागि मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश जारी गरेपछि झण्डै दुई वर्षदेखि बन्द रहेको रोजगारी आवेदनको काम तीन महिना अघि मात्रै खुल्यो । यो बीचमा झण्डै ६ हजार नेपाली कामदार मलेसिया गईसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here