काठमाडौं ।। स्थानीय निर्वाचनमा कसरी जाने भन्ने विषयमा पर्सिसम्म तालमेलबारे निर्णय गरिसक्न जिल्ला तहलाई सत्ता गठबन्धनले आग्रह गरेको छ । तालमेलको मापदण्ड बनिसकेको छैन, तर ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा सत्ता गठबन्धनका सबै जसो दलको आकर्षण छ । आकाङ्क्षा अनुसार तालमेल नभए गठबन्धन टुट्न सक्ने धम्कि गठबन्धनकै नेताहरूको छ । ६ महानगरपालिका मध्य नेपाली काँग्रेसले ४, माओवादीले १, एकिकृत समाजवादीले २ र जसपाले एउटामा दावी गरेको छ । काठमाडौं महानगरपालिकामा काँग्रेसले दाबी छोडेको छैन, एकिृत समाजवादीले पनि चाहना राखेको छ । काँग्रेसले काठमाडौंमा मात्रै होइन, ललितपुर महानगर पनि नछोड्ने दाबी गरेको छ । काठमाडौं र ललितपुर महानगर नछोड्ने बरु गठबन्धन छोड्ने काँग्रेस नेता भिमसेन दास प्रधानको भनाइ छ । माओवादी केन्द्रले नेतृत्व गरिरहेको भरतपुर महानगरपालिमा फेरि पनि उसकै दाबी रहेको छ । तर, काँग्रेस नेताहरू अघिल्लो कार्यकाल पनि छोडेकाले यसपटक पनि भरतपुर महानगर छोड्न नसकिने अडानमा रहेका छन् । महानगरमा देखिएको दलहरूको चासो र अडानका कारण गठबन्धनभित्र सहमति जुट्न सकस देखिएको छ । जसपाले जितेको वीरगन्ज महानगरपालिकामा यस पटक काँग्रेसले पनि चाहना राखेको छ भने जसपाले पुनः नेतृत्व गर्न चाहेको छ । बिराटनगर महानगरपालिकामा काँग्रेसको दाबी रहेको छ । पोखरा महानगरपालिकामा भने एकिकृत समाजवादीको दाबी छ । ११ उपमहानगरमा आफुले नेतृत्व गरिरहेका २ सहित अन्य ५ उपमहानगरमा काङ्ग्रेसले दाबी गर्ने भएको छ । एमालेले यस अघि जितेको जितपुर सिमरा उपमहानगरमा एमालेसहित काँग्रेस र माओवादी केन्द्रले पनि दाबी गर्ने भएको छ । जनकपुर उपमहानगरमा जसपाले दाबी गर्ने भएको छ भने नेकपा एसले इटहरी, हेटौंडा, बुटवल, घोराही र तुलसीपुर सहित ६ वटामा दाबी गर्ने भएको छ । गठबन्धनमा आवश्यकता अनुसार तालमेल हुने भनिएपनि आकाङ्क्षी धेरै हुँदा सहमति जुटाउने विषय पेचिलो बन्दै गएको छ ।





