काठमाडाैं ।। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवारविरुद्धको महाभियोग प्रस्तावमा छलफलको मितिबारे टुङ्गो लगाइने भएको छ । संसद सचिवालयका अनुसार बैठकमा प्रधानन्यायाधीश जवराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्ने दिन र समय निर्धारण हुने छ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ, पम्फा भूसाल र एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ प्रस्तावक र अरु ९५ जना सांसदको समर्थनमा जवराविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रतिनिधि सभाका दुई तिहाइ बहुमत सदस्यले महाभियोगको पक्षमा मत दिएमा जवरा पदमुक्त हुने वा प्रस्ताव पारित हुन सकेन भने उहाँ फेरि सर्वोच्च फर्कनुहुनेछ । त्यसो हुँदा राणाले आगामी मंसिरसम्म सर्वोच्चको नेतृत्व गर्न पाउनुहुनेछ । आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले (सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदन, २०७८) पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । जारी अधिवेशनको पहिलो बैठकदेखि नै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद्मा अवरोध गर्दै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदको बारेमा सूचना टाँस गर्नुपर्ने एमालेको माग छ । सभामुखले भने अवरोधकै बीच बैठकका काम कारबाही अघि बढाउँदै आउनुभएको छ ।
Home मुख्य समाचार प्रतिनिधि सभाको बैठक आज बस्दै, प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावमा छलफलको मिति तोकिने





