गुल्मी ।। जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरूको व्यवस्थापनमा समस्या भएको छ । २५ जना मात्रै अट्ने क्षमता रहेको कारागारमा हाल ६५ जना कैदीबन्दीलाई राखिएको छ । यसअघि कारागारमा ९८ जनासम्म राखिएको थियो । क्षमताभन्दा धेरै कैदीबन्दी राखिँदा सुत्न, खानसमेत समस्या हुन थालेको छ । कारागारमा ६५ जना कैदीबन्दीमध्ये ५८ पुरुष र ७ जना महिला छन् । महिला कैदीबन्दीलाई शौचालयको प्रयोगदेखि सुत्न, बस्न पनि समस्या भइरहेको छ । कारागारमा कसैलाई स्वास्थ्य समस्या भए जाँचका लागि हुनुपर्ने स्वास्थ्यकर्मीको पनि दरबन्दी १९ महिनादेखि रिक्त छ । सामान्य स्वास्थ्य समस्याका लागि अस्पताल जानुपर्ने र खर्च धेरै हुँदा आर्थिक समस्या भोग्नुपरिरहेको कैदीबन्दीको गुनासो छ । कारागारको समस्या समधानका लागि पहल भइरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताउनुभयो । कारागारलाई सुधार गृहको रुपमा परिभाषित गर्दै आएको सरकारले कैदीबन्दीको आधारभूत आवश्यकता समेत पूरा गर्न सकेको छैन । कारागार अनुगमन, निरिक्षण र सुधारको काम कागजमै सिमित हुँदा बन्दी थपिए कसरी व्यवस्थापन गर्ने चुनौती पनि कायमै छ ।





